उदयपुरका पाँच सय भूमिहिन किसान परिवारले १५ वर्ष अघि जग्गा धनि प्रमाणपुर्जा पाएपनि उनीहरुको एक धुर जग्गा छैन । तत्कालिन सुकुम्बासी समस्या आयोगले पछि जग्गा उपलव्ध गराई दिने भन्दै उनीहरुलाई १५ वर्ष अघि अस्थायी जग्गा धनि प्रमाण पुर्जा दिएका थिए । आयोगले पछि जग्गा दिने भन्दै दिएको अस्थायी लालपूर्जा पाएको डेढ दर्शक विति सक्दा सम्म पनि उनीहरुले भने अझै जग्गा पाउन नसकेको हो । ०५२ सालमा तत्कालिन सुकुम्बासी समस्या आयोगले जिल्लाका ति भूमिहिन किसानहरुलाई पछि जग्गा उपलव्ध गराई दिने सर्थमा अस्थायी जग्गा धनि प्रमाण पूर्जा दिएका गरेको थियो । तर अहिले १५ वर्ष पुगि सक्दा पनि आफुहरुले जग्गा नपाएको गुनासो जोगिदह गाविस–७ का पवन चौधरीले गरे ।
जिल्लाका अधिकांश भूमिहिन सुकुम्वासीहरुको अहिलेसम्म जग्गा छैन, तर अहिले उनिहरु पुर्जा देखाउदै जग्गा खोजिदिन कहिले मालपोत कार्यालय, कहिले जिल्ला प्रशासन त कहिले राजनीतिक दलको कार्यालय धाईरहेकाछन् । यसरी धाउँदा पनि उनीहरुको कुरा कसैले नसुन्ने गरेको त्रियुगा नगरपालिका–९ का मौलाई सदाको गुनासो रहेको छ । ०५२ सालमा सुकुम्वासी समस्या समाधान आयोगले ति भूमिहिनहरुलाई जग्गाको पछि व्यवस्था गरिदिने भन्दै अस्थायी जग्गा धनि प्रमाणपुर्जा बितरण गरेको थियो, तर १५ बर्ष पहिला लालपूर्जा दियो जग्गापछि दिउँला भन्या अहिले सम्म कति चोटी सरकार परिवर्तन भयो, राजालाई पनि हटायो, अब त जग्गा पाईएला कि भनेको त हाम्रो समस्याको बारेमा कसैले पनि सुनुदिदैन भूमिहिन त्रियुगा नगरपालिका–७ का झयाउली सदाले गुनासो पोखे ।
आयोगले भूमिहिनहरुलाई १ कट्ठा देखि अढाई कट्ठा सम्मको अस्थायी जग्गा धनि पुर्जा बितरण गरि सम्पूर्ण कागजपत्र मालपोत कार्यालयलाई बुझाएको थियो । यसरी जग्गा बिनाको अस्थायी पुर्जा पाउने भूमिहिनहरुमा कटारी गाविसमा १ सय २२ जना, जोगीदहमा १ सय ५० जना, हडियामा ७० जना, सुन्दरपुरमा ८४ जना र अन्य गाविसमा समेत गरि करिव ५ सय भन्दा बढी रहेको जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष बलबहादुर तामाङले संकलन गरेको तथ्यांकमा उल्लेख रहेकोछ । जीवीकोपार्जनका लागी दैनिक मजदुर गरेर खाने ति परिवारहरुलाई बारम्बार जग्गाको लागी धाउन समेत फुर्सद छैनन् अधिकार मञ्चको अध्यक्ष तामाङको भनाई रहेको छ ।
जिल्लामा ऐलानी जग्गामा बसोबास गरेर लालपुर्जा नपाएका र खोला किनार तथा पाखो, जंगल नजिक बसोबास गरेर अस्थायी पुर्जा प्राप्त गरेका गरि दुई प्रकारको भूमिहिनहरु रहेको जिल्ला भूमिहिन अधिकार मञ्चका अध्यक्ष बलबहादुर तामाङले जानकारी गराए । तामाङका अनुसार बर्षेनी भूमिहिनहरु सयौको संख्यामा बृद्धि हुदै गएकोले केही बर्षमा समस्याले बिकराल रुप लिने छ । उदयपुरमा मात्र भुमिहिनको संख्या ६० हजार भन्दा बढी रहेको जिल्ला भुमिहिन अधिकार मञ्चका अध्यक्ष तामाङको भनाई रहेको छ । सरकारले गरिब तथा विपन्न परिवारका निम्ति कुनै योजना नबनाएकोले पनि केही वर्षमा यो संख्या दोब्बर भन्दा बढी हुने अनुमान भूमिहिन अधिकार मञ्चले जनाएको छ । यता मालपोत कार्यालयले हालसम्म जग्गा छुट्टयाएरै दिएको २९ हजार भूमिहिन किसानहरुको लालपुर्जा समेत बितरण गर्न सकेको छैन ।
मन्त्रालयबाट निर्देशन प्राप्त नभएको भन्दै तयारी अवस्थामा रहेका लालपुर्जा यसरी रोकेर राखेका हुन । विगत ९ वर्ष अगाडी तयारी भएको लालपूर्जा भूमिसुधार मन्त्रालयका कारण वितरण हुन नसकेको जिल्लास्थित राननितिक दलका एक नेताले बताए । मन्त्रालयले वितरण गर्न आदेश दिएमा तत्काल बितरण गरिने र अस्थायी पुर्जा भएकाहरुलाई समेत जग्गाको व्यवस्थाको लागि पहल गरिने मालपोत अधिकृत खड्गबहादुर कार्कीले जानकारी दिए । तत्कालीन आयोगको म्याद सकिएपछि मन्त्रालयको कुनै आदेश नआएकोले सम्पूर्ण काम रोकिएको कार्कीको भनाई छ । सुकुम्वासी समस्या समाधान आयोगले बितरणको लागि मालपोतलाई हस्तान्तरण गरेको २९ हजार पुर्जा धमिराले खान शुरु गरेको कार्यालयले जनाएको छ । अव्यवस्थित रुपमा बसोबास गर्ने सुकुम्वासीहरुको समस्या समाधान गर्ने उद्देश्यले काम शुरु गरिएको भएपनि चाडै नै आयोगको म्याद समाप्त भएको हुँदा पुर्जा र जग्गाको उचित व्यवस्थापन गर्न नसकिएको तत्कालिन सुकुम्वासी आयोगका अध्यक्ष वीरेन्द्र बस्नेतले बताए ।
सुकुम्बासी समस्य समाधान आयोग गठन भएको भएता पनि यसले सुस्त गतिमा काम गरेकोले समस्याको निकास भने पाउन सकेको छैन ।
News by - ईश्वर तामाङ
10:11 PM
भुवन राउत
Posted in



No Response to "१५ वर्षदेखि हातमा लालपूर्जा बोकेका सुकुम्बासीको जग्गाको टुङगो छैन"
Post a Comment