कहिलेकाहीँ पिरो मात लाग्छ र भीडदेखि उछिट्टिएर कतै अलप हुन मन लाग्छ । हिन्दी धार्मिक सिरियलहरूमा देख्न पाइने जस्तो आँखा चिम्लिनासाथै झुलुक्कै अलप भएर चाहेको ठाउँमा पुग्ने देउती माता-पिता त आफू परिएन । दिक्क लाग्दा लुखुर-लुखुर टहलिँदै हिड्दा मजै बेग्लै । त्यस्तै पिरो मातले छोप्दा एक दिन पशुपतिनाथ मन्दिरको शरणागत हुन जान मन लाग्यो । धिपधिपे साँझमा ऊर्जावान् लाल्टिन खोज्दै भौतारिएको म पशुपतिनाथ परिसरमा पोलिँदै गरेका ताजा शवहरूको धुवाँले तरङ्गित भएँ । परमानन्द ! जीवन भेट्नु-चिन्नुको हलुकापनबाट म सुमसुमिएको थिएँ । केही तस्बिरहरू खिचेँ, दर्शक बनेँ आफ्नो भावी आरामकक्ष जस्तो चिताहरूको । र घर फर्किएर मध्यरातमा यो कविता लेखेँ ।
जीवनभित्र एउटा रेखा
झोसेको चुरोट हो कि
आफैँलाई ?
सल्किँदै
खिइँदै
चुसाइका बेहिसाब कोरनहरुमा
अचाक्ली पेलिँदै
फेरि फेदीसम्मैको यात्रा
लागेको छ हात
यसैलाई डोर्याउनु छ
र जानु छ चुपचाप
लम्बिएर पनि छोटिँदै तय भएको
नचिनेको आफ्नो घर ।
लेखक - Jotare Dhaiba
No Response to "जीवनभित्र एउटा रेखा"
Post a Comment